Lumbini Football Academy

खेलाडीहरूको अपरिपक्क निर्णय, प्रशिक्षकको घमण्ड र एन्फा नेतृत्वको गैरजिम्मेवारीका कारण नेपाली फुटबललाई दीर्घकालीन असर पर्ने देखिएको छ। केहि समयअघि एएफसी एसियन कप तेस्रो चरणको छनोटका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय टोलीका सिनियर खेलाडी र प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादले नेपाली फुटबलमा तरङ्ग ल्याएको थियो। हालै एन्फाले यस घटनाको छानबिन समितिले तयार पारेको प्रतिवेदन समेत सार्वजनिक गरिसकेको छ। प्रतिवेदनमा दुवै पक्षको दोष देखाइएको छ भने स्पष्टरूपमा गल्तीबारे यकिन गरिएको छैन। खेलाडी, प्रशिक्षक र व्यवस्थापन सबै पक्षको दोष देखाइएको सन्तुलीत प्रतिवेदनले सबै पक्षलाई सचेत गराउने मात्र भनिएको छ। प्रतिवेदनअनुसार एन्फाले कारबाही अगाडि बढाएर समस्याको समाधान गर्छ कि भन्ने सबैको आशा थियो। तर त्यसको सजाय बन्द प्रशिक्षण छोडेका खेलाडीले मात्र भोगेको जस्तो देखिएको छ। उनीहरूलाई राष्ट्रिय टिममा समावेश नगरी प्रशिक्षक अलमुतारीले नयाँ खेलाडीहरूलाई समावेश गरि राष्ट्रिय टिम घोषणा गरिसकेका थिए। यति मात्र होइन क्याम्प छोडेका खेलाडीहरूको पक्ष लिएर बोलेका राष्ट्रिय टिमका कप्तान किरणकुमार लिम्बूलाई समेत राष्ट्रिय टिमबाट हटाइयो। छनोटको लागि राष्ट्रिय टोली कतार प्रस्थान गर्नुअघि नयाँ कप्तानको रूपमा नवयुग श्रेष्ठलाई घोषणा समेत गरियो। सुन्दा सामान्य लागेपनि यो घटनाको विषयमा एन्फाले हतारमा लिएको निर्णय घातक हुनसक्छ। प्रतिवेदनअनुसार खेलाडीहरूले गरेको गल्ती आवेगमा आएर बन्द प्रशिक्षण छोड्नु नै देखिन्छ। तर प्रशिक्षकको व्यवहारले गर्दा बाध्य पारिएको भनिएको छ, यसमा बरू व्यवस्थापकसँग सल्लाह गरी विकल्प खोज्न सक्ने अवस्था पनि देखिन्छ। प्रशिक्षकले आफ्नो घमण्ड प्रस्तुत गर्दै खेलाडीहरूसँग अपशब्द समेत बोलेर बारम्बार उनीहरूलाई टर्चर गर्नु उचित देखिदैँन। घटना घट्दा व्यवस्थापक उपस्थित नहुनु झनै गैरजिम्मेवारीपन हो। घटना घटिसकेपछि एन्फाले तत्काल समस्याको समाधान नखोजी ढिलासुस्ती गरेर संवेदनशील कुरामा पनि गम्भीर नहुनु ले झन् थप समस्याहरू उत्पन्न भएको देखिन्छ। समयसमयमा विवाद भइरहने एन्फामा आगामी नयाँ नेतृत्वको लागि असार ६ गते निर्वाचनमा हुँदैछ। हामीले कस्तो व्यक्तिलाई एन्फाको नेतृत्वमा पठाउने भन्ने सोच्ने बेला आएको छ। हामी नीति नियम र व्यवस्थाको कुरा गर्छौ तर त्यो निर्माण गर्ने स्थानमा गलत व्यक्तिलाई पुर्‍याउँदा समस्याहरू उत्पन्न हुने हो। हिजो यो व्यक्ति खराब छ भनेर आफू अगाडि आयो। आज त्यही व्यक्ति पनि पहिलेकै जस्तो हुने हो भने सधैँ हामीले फरक व्यक्तिलाई चार वर्ष परीक्षणको लागि मात्र एन्फाको अध्यक्ष छान्नु पर्नेहो? कोभिडको कारणले गर्दा नेपाली फुटबलमा मात्र होइन धेरै क्षेत्रमा असर पर्‍यो। तर हामीलाई यो सजिलो बाहना भइदियो। हुनुपर्ने लिग रोकिए एन्फाको क्यालेन्डर पफेरियो, तर स्थिति सामान्य हुँदा पनि खासै केहि गरेको जस्तो देखिएन। बाहिर बसेर एन्फाको कमीकमजोरी औँल्याउन सजिलो त पक्कै हुन्छ। बाहिरबाट आलोचना मात्र गर्नेहरूलाई के अनुरोध गर्न चाहन्छु भने तपाईंको आलोचनाको सम्मान छ तर समाधान पनि त तपाईंले निकाल्न सक्नु हुन्छ नी! सम्बन्धित क्लब, जिल्ला, प्रदेश कुनै न कुनै स्थानबाट प्रतिनिधित्व गर्दै समाधानका बाटोहरू खोज्ने प्रयास गरौँ। म एन्फाको आलोचना मात्र गर्न चाहादिन। मैले केहि समय यता एन्फाबाहिर रहेर पनि धेरै कुराहरू नियालेको छु। र एन्फा भित्री बसेर बुझ्ने अवसर पनि पाएको छु। एन्फाभित्र समस्याहरू धेरै छ। बरू मुख्य समस्या के हो? समस्या निम्त्याउने व्यक्ति हो? समाधान कसरी गर्ने त्यसमा छलफल गर्न सक्छौँ। एन्फामा समस्या धेरै छन्। हिजो योभन्दा अझै धेरै थिए। अहिले पहिलेभन्दा केही कम भए होलान्। तर प्रवृत्ति उस्तै लाग्छ। अब आउने नयाँ नेतृत्व लाई मेरो केही सुझाव छ। आगामी दिनहरूमा राष्ट्रिय खेलकुद परिषद, एन्फा र क्लबहरू मिलेर अझै राम्रो निति बनाउनु पर्छ। त्यसलाई कार्यान्वयन पनि गर्नुपर्छ। निश्चित योजानहरू ल्याउनुपर्छ। काठमाडौं खाल्डोका ए डिभिजन क्लबलाई थुपारेर बजेट बनाउनु भएन। जिल्लाका क्लबहरू, जिल्ला फुटबल संघ, प्रदेश फुटबल संघलाई लगायत सबैलाई समेट्ने गरी समानुपातिक तरिकाले बजेट बनाई निकास र विकास गर्नुपर्छ। उनीहरूलाई चुनावमा भोट हाल्नको लागि मात्र प्रयोग गर्न भएन। -ओली अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत लुम्बिनी प्रदेश फुटबल संघको सहमहासचिव हुन्।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top