२०८० साउनदेखि प्रशिक्षण दिन थालेको वलीको एकेडेमीमा विभिन्न जिल्लाका २७ जना खेलाडीले आवासीय सुविधासहितको प्रशिक्षण लिइरहेका छन् । लुम्बिनी एकेडेमीमा हाल एक विदेशीसहित तीन प्रशिक्षकद्वारा नियमित प्रशिक्षण दिइन्छ । मध्य अफ्रिकी मुलुक क्यामरुनबाट आएका मार्को नामले चिनिने बार्गो वेल्फ्रेड यहाँका मुख्य प्रशिक्षक हुन् । लिग फुटबल खेल्न नेपाल आएका खेलाडी वेल्फ्रेड लिग नचलेको समय भने पूर्णकालीन प्रशिक्षकका रूपमा एकेडेमीमा व्यस्त रहन्छन् ।
एकेडेमीमा दाङका साथै हुम्ला, जुम्ला, कैलाली, बाँके, बर्दिया, महोत्तरी, तेह्रथुम, सर्लाही, धनकुटा र रुकुम पूर्वसम्मका बालकहरू फुटबल सिकिरहेका छन् । ६ जना विपन्न तथा असहाय खेलाडीलाई पूर्ण छात्रवृत्ति र १२ जनालाई आंशिक छात्रवृत्तिसहित एकेडेमीमा राखिएको छ । पूर्ण छात्रवृत्तिमा रहनेमध्ये दुई जना महोत्तरीका मुसहर समुदायका छन् भने दुई जना कैलालीस्थित दलित समुदायका छन् । एक जना भौगोलिक रूपमा विकट हुम्लाका तथा एक आर्थिक अवस्था कमजोर भएका दाङकै बालक छन् । एकेडेमीका सबै बालकलाई घोराहीस्थित नेपाल पुलिस स्कुल र पद्मोदय स्कुलमा अध्ययनको व्यवस्था पनि मिलाइएको छ । १ सय जना खेलाडीलाई पूर्ण आवासीय सुविधासहित सञ्चालन गर्ने योजना रहेको एकेडेमीका अध्यक्ष वलीले बताए । जसमा ५० जना खेलाडीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने उनको योजना रहेछ ।
मासिक ४५ हजारमा घर भाडामा लिएर खेलाडीलाई आवासीय रूपमा राखिएको छ भने वार्षिक २ लाख ४० हजार रुपैयाँमा ३ बिघा जग्गा भाडामा लिएर खेलकुद मैदान निर्माण भइरहेको छ । खेलाडीका लागि राष्ट्रले पर्याप्त सहयोग गर्न नसकेको गुनासो सुनिरहँदा वली भने व्यक्तिगत प्रयासमा नै फुटबल खेलाडी उत्पादन गर्ने अभियानमा जुटेका छन् । आर्थिक रूपमा सक्षम परिवारका एक खेलाडीले खाना र आवासका लागि मासिक १२ हजार र प्रशिक्षणका लागि २ हजार शुल्क तिर्ने गर्छन्
। जुन शुल्कले मात्र एकेडेमी सञ्चालन गर्न पर्याप्त नभएको वली बताउँछन् । राम्रो फुटबल क्षमता भएका तर आर्थिक रूपमा कमजोर खेलाडीलाई भने निःशुल्क आवास तथा प्रशिक्षण दिइएकाले पनि खर्च व्यवस्थापनमा समस्या भइरहेको उनले बताए । खेलमैदान र अन्य सहयोगका लागि सरकारी, गैरसरकारी निकाय गुहारे पनि कतैबाट सहयोग नपाएको उनको गुनासो छ । ‘भुइँ तहबाटै संरचनागत विकास हुन सक्यो भने मात्र खेल क्षेत्रले प्रगति गर्ने हो,’ वलीले भने, ‘फुटबलको लोकप्रियता चुलिँदो छ तर खेलाडी उत्पादनका लागि जिम्मेवार निकायहरू गम्भीर छैनन् । खेलमा केही गर्न चाहनेलाई पनि प्रोत्साहन छैन ।’
एकेडेमीमा रहेका खेलाडीले एक वर्षमै उत्कृष्ट सीप विकास गरिरहेको वलीको दाबी छ । दाङमा मात्र १२ वटा फुटबल क्लब छन् । जिल्ला स्तरीय फुटबल खेलेको वर्ष दिनमा नै लुम्बिनी एकेडेमीका केही खेलाडीहरू यतिबेला १७ वर्षमुनिको राष्ट्रिय स्तरका खेलमा समेत छनोट भएको वलीले बताए । ‘कलिलो उमेरदेखि नै सिकाउँदै गयो भने छोटो समयमा नै खेलकुदको सीप विकास गर्न सहज हुने रहेछ,’ वली भन्छन् । गौशाला नगरपालिका–१० बर्दिबास महोत्तरीका १३ वर्षीय रामकरण सदा पहिले गाउँकै चौरमा रमाइलोका लागि फुटबल खेल्थे । पछि गाउँकै एक शिक्षकले उनलाई लुम्बिनी एकेडेमीमा गएर सिक्न सल्लाह दिँदै दाङ पठाए । पूर्ण छात्रवृत्तिमा एकेडेमीमा बसिरहेका सदा अहिले त्यहाँको राम्रो खेलाडीमा गनिने भइसकेका छन् । उनी ८ कक्षा पढ्दै खेल खेलिरहेका छन् ।
बर्दिबासकै कक्षा ६ मा अध्ययनरत १४ वर्षीय मन्जित सदा पनि पूर्ण छात्रवृत्तिमा फुटबल सिकिरहेका छन् । आर्थिक अवस्था कमजोर भएकैले फुटबल खेलाडी बन्ने सौख पूरा गर्न नपाएका उनी अहिले एकेडेमीमा आउन पाएपछि खुसी छन् । ‘निःशुल्क आवासीय खेल प्रशिक्षण लिन पाइने भएपछि म यहाँ आएँ,’ उनले भने, ‘अहिले राम्रो सिक्न पाइरहेको छु ।’
हुम्ला सिमकोटका प्रकाश सिंह पनि फुटबलर बन्ने सपनाकै कारण घोराही आइपुगेका हुन् । हुम्लामा प्रशिक्षक अभावमा सिक्न नपाइरहेको बेला उनले घोराहीमा सोचेजस्तो विकास गर्न पाएको बताए । जुम्ला बुर्थबाडाका १३ वर्षीय विकलेश बुढा १३ वर्षमुनिको राष्ट्रिय खेलसमेत खेलिसकेका खेलाडी हुन् । ‘खेलाडी भएर देशको नाम राख्ने रहर छ,’ उनले भने, ‘यसका लागि अहिलेदेखि नै मिहिनेत गरिरहेको छु ।’ कक्षा ८ पढ्दै गरेका सर्लाही वाग्मतीका प्रितम पौडेल, तेह्रथुम बसन्तपुरका १३ वर्षीय समीर खड्का पनि राष्ट्रिय हुँदै अन्तर्राष्ट्रियस्तरको खेलाडी बन्ने सोचले यतिबेला प्रशिक्षण लिइरहेका छन् । ‘म खेल क्षेत्रमा नाम राख्न चाहन्छु,’ समीरले भने, ‘यसका लागि प्रशिक्षण नलिएर सम्भव छैन । प्रशिक्षणले धेरै सीप विकास भएको छ ।’
कुनै पनि खेललाई अगाडि बढाउने हो भने सबैभन्दा पहिला खेलाडी उत्पादन र भएका खेलाडीको सीप निखार्ने काम महत्त्वपूर्ण हुन्छ भन्ने सोचेर एकेडेमीको अभियानमा लागेको वलीले बताए । ‘मध्यम वर्गीय परिवारको एउटा किशोरका लागि खेलाडी बन्छु भन्नु सजिलो कुरा पक्कै हैन । म जस्ता धेरैको सपना रहरमा नै बिलाउँदो रहेछ,’ वलीले आफ्नै विगत सम्झँदै थपे, ‘फुटबललाई मात्र प्रेम गरेर जीवन चलाउन सम्भव थिएन, जसका कारण मैले चिया बेचें । आर्थिक अवस्था केही सुध्रिएपछि म जस्तै सपना पालेका भाइबहिनीका लागि केही गर्नुपर्छ भनेर लागिरहेको छु ।’ खेलाडी बन्न नपाएको झोकमा चिया पसल खोलेका वलीका लागि यतिबेला भने त्यही व्यवसाय फुटबलमा फरक तरिकाले काम गर्न सहयोगी बनिरहेको छ । चिया बेचेर गरेको आम्दानी उनले एकेडेमी सञ्चालनमा नै खर्चिरहेका छन् ।
‘चिया पसलले राम्रै आम्दानी दिइरहे पनि खासमा मेरो प्यासन यसमा थिएन,’ वलीले भने, ‘मेरो लगाव त फुटबलमा थियो । त्यसैले पनि आफ्नो सपना अबका भाइबहिनीमा देखेको छु, उनीहरूलाई सक्षम खेलाडी बनाउन भनेरै एकेडेमी खोलें ।’ उनलाई चिया पसल सञ्चालनकै क्रममा नेपाली फुटबलका हरेक क्रियाकलापबारे चासो राख्नुका साथै क्लब, जिल्ला संघ, प्रदेश, संघ, एन्फा, खेलाडी, प्रशिक्षक र फुटबलसम्बन्धी सबै गतिविधिको अध्ययन गरेरै यता हात हालेको बताए ।
नेपाली फुटबलमा केही गर्ने, युवापुस्तालाई थप निराश हुनबाट जोगाउने र प्रेरणाको सञ्चार गराउने अभियानस्वरूप एकेडेमी सञ्चालन गरेको वली बताउँछन् । ‘पूर्णतः एक्लो प्रयासमा निजी क्षेत्रबाटै सुरु गरिएको आवासीय सुविधासहितको यो नै देशको पहिलो र एकमात्र फुटबल एकेडेमी हुनुपर्छ,’ उनी दाबीका साथ थप्छन्, ‘देशमा अरू पनि एकेडेमी नभएका होइनन् । कुनै एन्फा आफैंले चलाएको छ त कुनै क्लबले । अनि कुनैमा आवासीय सुविधा छैन भने कुनैमा व्यावसायिक सोच छैन ।’ एकल प्रयासमा एकेडेमी चलाएका कारण वलीले आर्थिक कठिनाइको सामना गरिरहेका छन् । कम्तीमा फुटबल खेलेर स्टार हुने र देशको जर्सी लगाएर अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत हुने सपना पूरा नभए पनि नयाँ पुस्तामार्फत त्यो सपना पूरा गर्ने उनको लक्ष्य छ ।