घोराहीमा लुम्बिनी फुटबल एकेडेमीको आयोजनामा त्रिपक्षीय मैत्रीपूर्ण फुटबल प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा पोखराको योङ स्टार क्लब, काठमाडौँको डोल्पो क्लब र आयोजक टिमबीच १३ र १६ वर्षमुनिका खेलाडीहरूबीच प्रतिस्पर्धा भएको थियो। युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन तथा एकेडेमीका सञ्चालक समिर ओलीलगायतले विजेता तथा सहभागी खेलाडीहरूलाई पुरस्कार, प्रमाणपत्र, ट्रफी र मेडल वितरण गर्नुभयो। १६ वर्षमुनिको समूहमा योङ स्टार क्लब पोखरा विजयी बनेको थियो भने १३ वर्षमुनिको प्रतिस्पर्धामा लुम्बिनी फुटबल एकेडेमीले उपाधि जितेको थियो।
प्रतियोगितामा सहभागी हुन काठमाडौँ र पोखराबाट ७७ जना खेलाडी तथा प्रशिक्षकहरू घोराही आएका थिए। आयोजकका अनुसार यस्तो प्रतियोगिता प्रत्येक ६ महिनामा आयोजना गरिनेछ र आगामी संस्करण पोखरामा हुने तयारी गरिएको छ।












